सुनकोशी गाउँपालिका-६, पाटिडाँडा स्थित यस श्री महेन्द्रोदय माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले स्थापना दिवस मनाएको हो ।

यस विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रेशम पाख्रिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्र नं. १ का माननीय संघीय सासंद माधाव सापकोटा सुवोध प्रमुख अतिथि र क्षेत्र नं. १ प्रदेश नं. ख का माननीय प्रदेश सांसद सरल सहयात्री, सुनकोशी गाउँपालिकाका प्रमुख टपिन्द्र तिमिल्सिना, उपप्रमुख कान्छी लामा, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख कृष्ण सुवेदी विशेष अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा यसै गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ७ का वडाध्यक्ष ईश्वर तिमिल्सिना, वडा नं. ५ का वडाध्यक्ष जाल बहादुर लामा, वडा नं. ६ का वडाध्यक्ष चक्र बहादुर बस्नेत, सहित जनप्रतिनिधिहरू, विद्यालयका प्रधान संरक्षक रामशरण कार्की तथा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने विद्यालयका अभिभावक, पूर्व विद्यार्थी तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो । कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरू जितु नेपाल, गायक रमेशराज भट्टराई, दोहोरी कलाकारहरू चिज गुरूङ, नवराज काप्री र बबिता बानियाँ ‘जेरी’ ले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए भने कोमेन्दो सांस्कृतिक समूहको विशेष गुरूङ नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा शिक्षक सिताराम पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने प्रधानाध्यापक कृष्ण प्रसाद दंगालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित अतिथिहरूले विद्यालयले शिक्षाको क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा विद्यालयको अझै बढी प्रगतिका लागि शुभकामना दिए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका विविध प्रतिभाले भरपुर विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन गराइएको थियो ।

विद्यालयलाई स्थापनाकालदेखि सहयोग गर्नुहुने विशिष्ट व्यक्तिहरूलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो । त्यस्तै विभिन्न समयमा संस्थागत र व्यक्तिगत रूपमा विद्यालयको विकास र विस्तार गरी यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरू र विद्यालयका शिक्षक रमेश भण्डारी, प्रेम बहादुर तामाङ, मिना लामा र जानुका खत्रीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि माननीय प्रदेश सासंद सरल सहयात्रीले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफूले गर्न सक्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो । त्यस्तै उहाँले गुणस्तरीय शिक्षा प्रदान भएको सुनिश्चित गर्न विद्यालयलाई अनुरोध गर्नुभयो । विद्यालयलाई यसै आर्थिक वर्षको प्रदेश सरकारको वार्षिक बजेट मार्फत यस विद्यालयमा विद्यालय बस र खानेपानी व्यवस्थापन गरिएको कुरा पनि जानकारी गराउनुभयो । शिक्षाको विकास बिना राष्ट्रको विकास हुन नसक्ने हुँदा सबै मिलेर आ-आफ्नो ठाउँ बाट शिक्षाको विकासको लागि सकेको योगदान गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सासंद सापकोटाले विद्यालयलाई सफलताको ६२ वर्ष पार गरेकोमा बधाई तथा शुभकामना दिए । यस विद्यालयको छात्राबास निर्माणका लागि आफुले प्रयास गरिरहेको चर्चा गरेका उनले छात्राबास निर्माण पछि विभिन्न विद्यालयहरूको दृष्टान्त दिदैँ विद्यार्थी व्यवस्थापनका चुनौति तर्फ पनि विद्यालयलाई सचेत गराउनुभयो । यस विद्यालय लाई अब्बल दर्जाको विद्यालय बनाउनका लागि सहयोग गर्न आफूसधैँ तयार रहेको उल्लेख गरे । आफूले विद्यालयलाई नजिक बाट नियालिरहेको र विद्यालय व्यवस्थापन समितिले सहयोग मागेको बखत यथाशक्य सहजीकरण गरिदिएको स्मरण गर्दै भावि दिनहरूमा पनि यसै गरी गरिरहने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालयले आगामी दिनमा अझै धेरै प्रगति गरोस् भन्ने शुभकामना दिनुभयो । कार्यक्रममा विद्यालयको नवनिर्मित लघु उद्यान र नेपालको नक्शा, नागरिक वडापत्र र बाल उद्यान (चिल्ड्रेन पार्क) को पनि प्रमुख अतिथि, विशेष अतिथिहरूबाट उद्‍घाटन गरिएको थियो ।

औपचारिक कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति रेशम पाख्रिनले उपस्थितिका लागि सबैलाई धन्यवाद दिनुभयो । आफू विद्यालयका पूर्व विद्यार्थी समेत रहेका उहाँले आफ्नै पहलमा विद्यालयमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको र विद्यालयको थप विकासका लागि सबै सरोकारवाला पक्षहरू मिलेर सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । आफू विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा आएदेखि गरेका भौतिक तथा अन्य सुधारका कामहरू बारे चर्चा गर्नुभएका उनले आवश्यक पर्दा साथ सहयोग दिने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक प्रेम बहादुर तामाङ र शिक्षक माधाव नेपालीले गरेका थिए । विद्यालयले वार्षिकोत्सवको उपलक्ष्यमा मूल कार्यक्रम पूर्व २ दिने विविध प्रतियोगितात्मक क्रियाकलापहरूको पनि आयोजना गरेको थियो र विजेता विद्यार्थीहरूलाई पुरस्कृत पनि गरेको थियो ।