सुनकोशी गाउँपालिकाको आयोजनामा तथा टुकी संघ सुनकोशीको समन्वयमा गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता २०८२ साल पौष १, २ र ३ गते बाघ भैरव माध्यमिक विद्यालयको खेलमैदानमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त प्रतियोगितामा ११ वटा सामुदायिक विद्यालय र १ वटा संस्थागत विद्यालय गरी जम्मा १२ विद्यालयको सहभागिता रहेको थियो।


प्रतियोगिताको उद्घाटन सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो भने समापन पनि उहाँकै प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न खेलकुद विधामा उत्साहपूर्वक सहभागिता जनाएका थिए।
प्रतियोगिताको अन्तिम नतिजा अनुसार १६ स्वर्ण, १२ रजत र १० कास्य पदकसहित सेतीदेवी शारदा माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै, १५ स्वर्ण, ११ रजत र ८ कास्य पदकसहित जाल्पादेवी माध्यमिक विद्यालयले द्वितीय स्थान प्राप्त गर्यो। ११ स्वर्ण, १३ रजत र १३ कास्य पदक जित्दै श्री महेन्द्रोदय माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा सबै विद्यालयहरूको सहभागिता एकदमै राम्रो, उत्साहजनक र प्रेरणात्मक रहेको कुरा आयोजकले जनाएको छ।


खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदप्रतिको रुचि र प्रतिभा अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।




